लेकाली क्षेत्रमा पाइने निगालोको टुसा, च्याउ र ढकायो शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा परेको छ।
बर्खायाममा यहाँका गाउँमा पुग्ने पाहुनालाई टुसा, च्याउ र ढकायोको परिकार चखाउने मात्र होइन, गाउँबाट शहर झर्दा लैजाने कोशेली पनि बनेको छ। बर्खा सुरु भएसँगै लेकाली क्षेत्रका बासिन्दा समूह बनाएर च्याउ, टुसा र ढकायो टिप्न जङ्गल जान थालेका छन्।
अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका होटल सञ्चालक हस्तमाया तिलिजा पुनले खोप्रा लेकमा पुगेर तीन बोरा ढकायो टिपेर ल्याउनुभएको छ। “होटलमा आउने पाहुनालाई चखाउन, बजारका आफन्तलाई कोशेली पठाउन ढकायोको गुन्द्रुक बनाउने, रातो च्याउ टिप्ने र टुसा भाँच्ने चलन छ,” उनले भनिन्, “शहरमा अत्याधिक माग भएकाले जङ्गलमा जुकाको आक्रमण सहेर खेर गइरहेको च्याउ, टुसा र ढकायो विपन्नको लागि आम्दानीको स्रोत पनि बनेको छ।”
ताजा च्याउ प्रतिकेजी रु १ हजार १०० र ढकायोको गुन्द्रुक प्रतिकेजी रु २ हजारमा बिक्री हुन्छ। प्रतिमुठा टुसा रु २०० का दरले बिक्री हुन्छ। गुर्जा, कुइने, मङ्गले, घ्यासीखर्क, नारच्याङ, पाउद्वार, दोवा, दाना, मुना, खिवाङ, बगर, मल्कवाङ, खोरीयाको जङ्गलमा रातो च्याउ, टुसा र ढकायो प्रशस्त मात्रामा पाइन्छ।
टुसा, च्याउ र ढकायोको परिकार शहरबाट आउने पाहुना र आफन्तको पहिलो रोजाइमा पर्ने गरेको खोप्रा–खयर पदमार्गमा पर्ने लरेनीका होटल व्यवसायी लिल पुनले बताए। “लेकाली खाद्य वनस्पति च्याउ, टुसा र ढकायोको माग यति छ कि जङ्गलबाट ल्याउना साथ खोसाखोस हुन्छ,” उनले भने, “जाँगर र अक्कल भएकाले जङ्गली च्याउ, टुसा र ढकायो बेचेर आम्दानी पनि गरेका छन्।”
रोजगारी, पेशा, व्यवसाय र अध्ययनको सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देली र म्याग्दी घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले ढकायो कोशेलीको रूपमा लैजाने गरेका छन्। अन्नपूर्ण गाउँपालिका–३ काभ्रेकी सुकमाया बुढाथोकीले बेलायत, हङकङ, जापानलगायत देशका ढकायो पठाउने गरेको बताइन्। विदेशमा म्याग्देलीले सञ्चालन गरेका रेस्टुरेन्ट्का मेन्युमा ढकायोको गुन्द्रुक परिकारका रूपमा राखिएको छ।
दुई हजार ५०० देखि तीन हजार ५०० मिटर उचाइको भूगोलमा पाइने ढकायो, च्याउ र टुसा सङ्कलन गर्ने याम असार महिना हो। बजारमा माग बढेपछि टुसा, च्याउ र ढकायो साग आम्दानीको स्रोत बनेको मालिका गाउँपालिका–३ की शान्ति नेपालीले बताइन्। गाउँमा सडक सुविधा भएपछि लेकको ताजा तरकारी सहजै बजारमा पुग्न थालेको उनले बताइन्।