भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती गरिएको छ । प्रदेश सरकारबाट प्राप्त रु सात लाख र किसानसँगको साझेदारीमा रामप्रसाद राई गाउँपालिकामा कफीखेती सुरु गरिएको हो।
नमूना कफीखेती विस्तार गर्ने लक्ष्यले गुराँस सहकारी संस्थामा आबद्ध आठ जना कृषकहरूको समूहले दुई हजार दुई सय बिरुवा रोपेर कफीखेती सुरु गरेको वडा नं ८ का अध्यक्ष बाचकुमार राईले जानकारी दिए। यो क्षेत्र कफीखेतीका लागि उपयुक्त भूगोल रहेकोले वडाको पहलमा बजेट माग गरी कफीखेती प्रवर्द्धन तथा विस्तार भइरहेको वडाध्यक्ष राईले बताए।
वडाध्यक्ष राईले भने, “खोक्सिक क्षेत्र कफीखेतीका लागि उपयुक्त भूगोल मानिन्छ। कृषकलाई कफीखेतीका माध्यमबाट आयआर्जनमा जोड्न यो कार्यक्रमले टेवा पुग्ने विश्वास छ।”
विगतमा सामान्य रुपमा कफीखेती गरिरहेको भए पनि यो कार्यक्रमले बृहत रुपमा खेती विस्तारमा टेवा पुगेको गुराँस सहकारी संस्थाका उपाध्यक्ष मनोज राईले बताए।
“हाम्रो क्षेत्रमा सामान्य रुपमा कफीखेती गरिरहेका थियौँ”, उनले भने, “धेरै मात्रामा विस्तार गर्ने सोच भए पनि आर्थिक अभावमा गर्न सकिएको थिएन। कार्यक्रम सञ्चालन भएपछि हामीलाई खेती विस्तारको लागि हौसला मिलेको छ।”
रामप्रसाद राई गाउँपालिकासँगै हतुवागढी गाउँपालिकाको सिन्द्राङ, होम्ताङ, लुङ्गिन, लुम्थुङसँगै आमचोक गाउँपालिकालगायत क्षेत्रका किसानहरूले कफीखेती गरिरहेका छन्। यहाँका किसानले उत्पादन गरेको कफी, धरान, इटहरी, विराटनगर काठमाडाँै हुँदै जापान, कोरियासम्म निर्यात हुने गरेको कफी व्यवसायी सुनिल श्रेष्ठले बताए। अर्गानिक (जैविक) कफीको विदेशी बजारमा समेत माग रहेको उनको भनाइ छ। भोजपुरमा उत्पादन भएको कफी सङ्कलन गरेर बाहिरका बजारमा आफूले बिक्री गर्दै आएको श्रेष्ठले जानकारी दिए। कफीले बाह्य बजारमा राम्रो मुल्य पाउन थालेपछि यहाँका किसान यसको खेतीतर्फ आकर्षित भएका हुन्।
तिम्मामा २२ जना सम्मानित
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माले वडाको विकासमा सहयोग पु¥याउने २२ जना नागरिकलाई सम्मान गरेको छ। वडाले ‘समृद्ध वडा’ निर्माणका लागि विभिन्न क्षेत्रबाट पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरेको हो।
वडाको विकासका लागि विभिन्न संरचना निर्माणको गर्न निःशुल्क जग्गा दान गर्ने, वडाको सडक निर्माणमा आर्थिक सहयोग गर्ने, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रको विकासमा सहयोग गर्ने उनीहरू सम्मानपत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको वडा नं १ तिम्मा वडाध्यक्ष नरबहादुर राईले जानकारी दिए।
“उहाँहरुले विभिन्न क्षेत्रबाट वडाको विकासका लागि सहयोग पु¥याउनु भएको छ”, वडाध्यक्ष राईले भने, “यहाँको विकासका लागि उहाँहरुले निस्वार्थ रुपमा गरेको सहयोगको कदर स्वरुप वडाको तर्फबाट सम्मान गरेका हौँ। स्थानीयको सहयोगले नै यो वडाको विकासलाई अघि बढाउन सहजता भएको छ।”
गाउँपालिकाले लिएको ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधार ः टेम्केमैयुङ विकासको आधार’ भन्ने नारालाई सफल गराउन स्थानीय नागरिकबाट भएको सहयोगको कदर स्वरुप गाउँपालिका उपाध्यक्ष रमादेवी राईको उपस्थितमा सम्मान गरिएको वडाध्यक्ष राईले जानकारी दिए।