डडेल्धुराको आलिताल गाउँपालिका-८, सुनखोलामा आज अटो दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार, बुधबार साँझ ५:०५ बजे जोगबुढा-बुडर भित्री सडक खण्डमा यो घटना भएको हो।
कैनघाडीबाट गोदाम बजारतर्फ आउँदै गरेका पैदल यात्री विक्रम वि.क.का ४ वर्षीय छोरा विवेक वि.क.लाई बुडरबाट जोगबुढातर्फ आउँदै गरेको भे.न.पा. ००१ ह ०१२६ नम्बरको अटोले ठक्कर दिएको थियो। ठक्कर दिँदा अटो पल्टिन गई पैदल यात्री विवेक वि.क. र अटो चालकसहित ६ जना सवारमध्ये २ जना गरी जम्मा ३ जना घाइते भएका थिए।
घाइते बालक विवेक वि.क.को जोगबुढा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अटो चालक भने फरार रहेका छन् र उनको खोजी कार्य जारी छ। दुर्घटनाग्रस्त अटो घटनास्थलमै रहेको छ।
घाइते हुनेहरूमा अटोमा सवार आलिताल गा.पा. वडा नं. ४ बस्ने १८ वर्षीय दिपक बोहराको दाहिने हातमा चोट लागेको छ र आलिताल गा.पा. वडा नं. ६ बस्ने ६३ वर्षीया मैना कामीको पनि दाहिने हातमा चोट लागेको छ। दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी, प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिएका छन्। (नोट: समाचारको मिति वैशाख २५ गते भए पनि घटना हिजो भएको हो।