कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाले आफ्ना प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवाल लामो समयदेखि सम्पर्कविहीन भई 'बेपत्ता' भएको र अग्रिम हाजिरी लगाएर गएको भनी केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचार भ्रामक र अफवाहपूर्ण भएको भन्दै खण्डन गरेको छ । गाउँपालिकाले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
केही सञ्चारमाध्यमले बैशाख ७ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत बडुवाल सम्पर्कविहीन भएको, बैशाख १० गतेसम्मको हाजिरी ७ गते नै लगाएर हिँडेको, जसका कारण पालिकाको कामकाज अस्तव्यस्त भएको, सेवाग्राही मर्कामा परेको, करिब ६० लाख र ३ करोड लागतका दुई सडक आयोजना अलपत्र पारेको तथा सुर्खेतस्थित एक इन्स्टिच्युटमा पढाउने गरेको जस्ता आरोपहरू लगाएका थिए ।
यस विषयमा गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले उक्त समाचारलाई पूर्णतः गलत र नियोजित 'हल्ला' तथा 'विरोधीको प्रचारबाजी' को संज्ञा दिए । उहाँका अनुसार, अधिकृत बडुवाल बैशाख ८ गतेसम्म पालिकामा नियमित काममै थिए । ९ र १० गते प्रदेशमा आयोजित तालिममा अध्यक्ष र अधिकृत सँगै सहभागी भएका थिए । त्यसपछि पालिकाको जेनेरेटर खरिदसम्बन्धी ठेक्काको मूल्यांकन कार्यमा अधिकृत खटिएको र उक्त कामको लागि प्रदेशमा मात्र उपलब्ध हुने मेकानिकल इन्जिनियर आवश्यक पर्ने भएकोले सोही कार्यमा संलग्न रहेको अध्यक्ष केसीले स्पष्ट पारे ।
अध्यक्ष केसीले थपे, “त्यसपछि उहाँले आफ्नो व्यक्तिगत विदा स्वीकृत गराएर मास्टर डिग्रीको परीक्षा दिन जानुभएको हो । अहिले फर्किँदै हुनुहुन्छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत सुदर्शन बमले नियमित काम गरिरहनुभएको छ ।” सडक आयोजना अलपत्र परेको भन्ने आरोपबारे उहाँले कामहरू भइरहेको र ठेकेदारहरूले सामग्री जम्मा गरिरहेको बताए । आधिकारिक निकायसँग सत्यतथ्य नबुझी एकपक्षीय समाचार लेखिएकोमा दुःख व्यक्त गर्दै, अध्यक्ष केसीले आफूसँग कसैले सम्पर्क नगरेको र सुर्खेतमा पढाउने कुरा पनि भ्रम मात्र भएको दाबी गरे ।
यसैगरी प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवालले पनि आफू प्रक्रियागत रूपमा तालिम र त्यसपछि परीक्षाका लागि विदामा रहेको बताए । उहाँले अध्यक्षसँग सल्लाह गरेरै विदा लिएको र हाजिरीमा पनि सबै स्पष्ट रहेको उल्लेख गर्दै, यसलाई आफूलाई सरुवा गराउन चाहने तत्वहरूले व्यक्तिगत चरित्रमा असर पार्ने गरी तनाव सिर्जना गर्ने प्रयासको रूपमा लिएको बताए । विगतमा लामो समय निमित्तको भरमा चलेको पालिकामा आफूले प्रक्रिया र सुशासनमा जोड दिँदा केही पक्षलाई असहज भएको हुन सक्ने उहाँको भनाइ छ ।
गाउँपालिकाका सूचना अधिकारी राम प्रसाद संज्याल, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुदर्शन बम र अध्यक्ष मोहन बहादुर केसीद्वारा हस्ताक्षरित आधिकारिक विज्ञप्तिमा पनि अधिकृत बडुवाल ८ गतेसम्म पालिकामा रहेको, ९-१० गते सुर्खेतमा तालिममा सहभागी भएको, त्यसपछि जेनेरेटर ठेक्का मूल्यांकनको काम सकेर नियमानुसार २३ गतेसम्म व्यक्तिगत विदामा रहेको स्पष्ट पारिएको छ । विज्ञप्तिमा भ्रामक समाचारप्रति खेद व्यक्त गर्दै सत्यतथ्य बुझेर मात्र समाचार प्रकाशन गर्न आग्रह गरिएको छ ।
एकातिर सञ्चारमाध्यममा प्रमुख प्रशासकीय अधिकृत बिना सूचना लामो समय अनुपस्थित रहेको र पालिकाको काम प्रभावित भएको आरोप लगाइएको छ भने, अर्कोतिर गाउँपालिका अध्यक्ष, स्वयं प्रमुख प्रशासकीय अधिकृत र पालिकाको आधिकारिक विज्ञप्तिले ती आरोपहरूलाई खण्डन गर्दै अधिकृत प्रक्रियागत रूपमा नै तालिम, सरकारी काम र त्यसपछि स्वीकृत विदामा रहेको दाबी गरेका छन् । पालिकाले यस घटनालाई सुशासनको प्रयासलाई बदनाम गर्न खोज्ने तत्वहरूको 'प्रचारबाजी' भनेको छ ।