बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि महिलाहरुलाई सञ्चालन गरेको उद्यमशीलता तालिमले स्वरोजगार बन्न सहयोग पुगेको छ। लुम्बिनी प्रदेशमा दुर्गम क्षेत्र एवं गाउँसँग जोडिएको विकसित शहरका रुपमा उपमहानगरपालिकाले प्रदान गरेको तालिमले महिलाहरुलाई आयआर्जनमा महत्पपूर्ण सहयोग पुगेको छ।
उपमहानगरपालिकाले सञ्चालन गरेको जुत्ताचप्पल तालिमले महिलाहरुले साना उद्योग एवं व्यवसाय सञ्चालन गरी घरपरिवारको आयआर्जनका साथै यस क्षेत्रमा आर्थिक चलायमान गराउन सहयोग पुगेको छ। तालिमबाट प्राप्त सीपले धेरै महिला जुत्ताचप्पल व्यवसायबाट आत्मनिर्भर बन्न सकेका छन्।
बुटवलका विभिन्न वडामा सञ्चालन भएका यस्ता तालिममा महिलाले हातले जुत्ता र चप्पल बनाउने सीप सिकिरहेका छन्। उनीहरू विभिन्न बजारमा आएको नयाँ नयाँ प्रकारका डिजाइनमा ज्ञान प्राप्त गरी उत्पादन गरेका जुत्ता चप्पलको माग बुटवल तथा आसपासका शहरमा वृद्धि भइरहेको छ।
उपमहानगरबाट तालिम प्राप्त गरेकी ओसिन थापा गुरुङ सफल उद्यमी बन्न सफल भएकी छन्। बुटवलको व्यस्त शहरमा रहेको उनको साना उद्योगमा जुत्ताचप्पल खरिद गर्न ग्राहकको घुइँचो लागेको देखिन्छ।
उद्यमी गुरुङले तीन साथीहरुको सहयोगमा विसं २०८० मा बुटवलमा भएका साना घरेलु उद्योग उत्पादनको प्रदर्शनीमा रु. एक लाख ८० हजार लगानीमा निर्माण गरिएका सामग्री बिक्री गरी शत्प्रतिशत मुनाफा आर्जन गर्न सफल भएको बताइन्। उनले प्रदर्शनीबाट प्राप्त मुनाफाले आत्मविश्वास वृद्धि भएकाले व्यवसाय दर्ता गरी कार्य सञ्चालन गरिरहेको जानकारी दिइन्।
वडा नं. ३ ज्योतिनगरमा एकैचोटि सिकेका तीन जनाले आफ्नो व्यवसाय चलाउँदै धेरै महिलालाई स्वरोजगार बनाउन सफल भएको उनले सुनाइन्। गुरुङले अहिलेसम्म उपमहानगरपालिकाबाट सञ्चालित जुत्ताचप्पल बनाउने तालिम १० वडामा दिएको बताइन्। उनले पूर्वमेचीदेखि पश्चिममहाकालीसम्मका महिलालाई जुत्ताचप्पल तालिम दिएर धेरैलाई व्यवसाय चलाउन सक्ने सक्षम बनाएको बताए। उनले अहिलेसम्म एक हजारभन्दा बढी महिलालाई यो तालिम दिइसकेकी छन्। गुरुङ अहिले जुत्ताचप्पल बनाउने तालिम लिएर सुरु गरेको व्यवसायले प्रतिमहिना रु. तीन लाख मुनाफा आर्जन गर्न सफल भएकी छन्।
बुटवल–८ की वडा सदस्य सीता खनालले गत वर्षको चैत २६ देखि वैशाख ३ गतेसम्म वडामा दिएको तालिमले हिजो घरभित्र बस्ने महिला आज बाहिर आएर सबल तथा सक्षम जुत्ता चप्पल उद्यमी भएर आफ्नो खर्च चलाउन सक्ने हुनुभएकामा हर्ष व्यक्त गरिन्।
उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरले महिलालाई उत्पादनमूलक सीप दिएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए। उपप्रमुख सावित्रादेवी अर्यालले उपमहानगरपालिकाले विशेषगरी महिलालाई धेरै किसिमको व्यावसायिक सीप तथा तालिम प्रदान गर्दै आइरहेको बताइन्। सीप, सहकार्य र सशक्तीकरणको सहयोगले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुका साथै समाजमा सम्मानित स्थान हासिल गर्न सफल गराएको उनको भनाइ छ।