आज बिहान कोटेश्वर-तीनकुने सडक खण्डमा भएको एक दर्दनाक सवारी दुर्घटनामा एक युवतीको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। मुनिभैरव मन्दिर नजिकै भएको उक्त दुर्घटनामा रातो बत्तीमा रोकिएका सवारी साधनलाई तीव्र गतिमा आएको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा नुवाकोट घर भई ललितपुर बस्ने २३ वर्षीया नागिना तामाङ रहेकी छिन्। गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टरमा उपचारको क्रममा निधन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर, भ्यान चालक रत्न सार्की र बसकी एक यात्रु मेनुका बुढाथोकी पनि घाइते भएका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार, बिहान साढे ६ बजेतिर बा३ख ७०६२ नम्बरको बसले रोकिराखेका भ्यान र मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो। बस चालक रामकुमार खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ।