२८ कार्तिक २०८२ , शुक्रबार

बागलुङको बुकीपाटन पदयात्राका लागि उत्कृष्ट गन्तव्य

News
३२ असार, काठमाण्डौँ ।

हरिया अजङ्गका पहाड, त्यही पहाडका काखमा समथर मैदान। समुद्री सतहबाट चार हजार मिटरभन्दा अग्ला पहाडमा हिजोआज पदयात्राका लागि जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। यो याममा दैनिकजसो पर्यटक पदयात्रा गर्दै पहाततर्फ उक्लिरहेका देखिन्छन्।

अहिले बागलुङको ‘बुकीपाटन’ पनि पदयात्राका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ। पाँच वर्ष अगाडिसम्म गोठाला र वस्तुभाउ मात्रै बस्ने बुकीपाटनमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो।

उच्च पहाडी हावापानी, शान्त वातावरण र मनमोहक दृश्यले पर्यटकलाई आकर्षित गरेको छ। गाउँबाट होस् वा सहरबाट युवाहरूको जमातले बुकीपाटन उक्लिने पदमार्गमा चहलपहल देखिन थालेको स्थानीय बताउँछन्। सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट बुकीपाटनको प्रचारप्रसार हुन थालेपछि हिजोआज पदयात्रा गर्ने पर्यटको सङ्ख्या बढेको ढोरपाटन नगरपालिका–९ का गुनबहादुर बुढामगरले बताए।

बुकीपाटनमा पुग्ने पर्यटकले नजिकैबाट दर्जनौँ हिमशृङ्खला, गोठाले जीवन देख्न र अनुभूति गर्न पाउने, गर्मीयाममा शीतलता हुने भएकाले युवाहरूमा पदयात्रा (ट्रेकिङ) मोह बढेको उनको भनाइ छ। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटन गत वर्षदेखि बढी चर्चामा आएको हो। ढोरपाटन उपत्यकाबाट करिब साढे चार घण्टाको पैदल यात्रापछि पुग्न सकिने बुकीपाटन तीन हजारदेखि चार हजार ५०० मिटरको उचाइसम्म पर्दछ।

बुकीपाटन चढ्ने याम असारदेखि असोजसम्म मानिने बुढामगरले जानकारी दिए। यो याम बढी मनमोहक हुने भएकाले पदयात्रमा आउने पर्यटक बढेका बताउँदै उनले यसअघि ढोरपाटन आउने पर्यटक उपत्यकाबाटै फर्किने गरेकामा हिजोआज बुकीपाटनसम्म उक्लिने गरेका जानकारी दिए।

उनी भन्छन्, “अहिले घुमफिर गर्ने चलन आयो, युवाहरू खुब रमाइलो गर्दै बुकी चड्छन्। स्टिलका लौरा समातेका, झोला बोकेका, फोटो खिच्दै हिँड्छन्। हामीलाई देखे भने पुराना पुराना कुरा सोध्छन्, जिज्ञासा राख्छन्। कोहीले हाम्रो फोटो खिच्छन् र सञ्चारमाध्यममा देखाउँछु भन्छन्। घुम्न आउनेहरूलाई रमाइलो नै हुन्छ होला, हामीलाई पनि रमाइलो लाग्छ।”

ढोरपाटन उपत्यकाका होटल व्यवसायी धीरेन्द्र घर्ती मगरले पछिल्लो समय बुकीपाटन चर्चामा आएको बताए। पहिले गुमनाम रहेको बुकीपाटनमा अहिले दैनिकजसो पर्यटक ‘ट्रेकिङ’ जाने गरेको उनको भनाइ छ। पोखरा, काठमाडौँ, बुटवल, चितवनलगायत ठाउँबाट युवाहरू पदयात्रा गर्न आउने गरेको घर्तीले बताए।

उनले भने, “बुकीपाटन मनमोहक र आकर्षित छ, यतिका समयसम्म ओझेलमा थियो, अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रचार हुँदा धेरै पर्यटकको आगमन भएको छ। पहिले उपत्यकाबाट फर्किने पर्यटकहरू अहिले बुकीपाटन उक्लिने गरेका छन्। ढोरपाटन आउने धेरैजसोले बुकीपाटन जाने तयारी गर्नुहुन्छ।”

चितवनका रेवनकुमार शाक्यले तराईमा गर्मी हुँदा शीतलताका लागि बुकीपाटन पदयात्रामा आएको बताए। ढोरपाटनसम्म गाडीमा आएको सुनाउँदै त्यसभन्दा माथि पदयात्रा गरेको उनले बताए। बुकीपाटन जाँदा बाटोमा धेरै पदयात्रीहरू देखेको सुनाउँदै आफूहरू पनि पाँच जनाको टोली आएको शाक्यले जानकारी दिए। स्थानीय सरकारले बुकीपाटन पुग्ने पदमार्गलाई थप व्यवस्थित र आकर्षित बनाउनुपर्नेमा उनले जोड दिए।

पछिल्लो समय बुकीपाटन जाने पर्यटकको सङ्ख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारले चालु आवमा विनियोजन गरेको रु २० लाखमा पदमार्गलगायत पूर्वाधार निर्माण छ।

ढोरपाटन नगरपालिका–९ पाखाथरबाट गर्पाछेडासम्मको पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिए। पदमार्गसँग विभिन्न ठाउँमा काठेपुल निर्माण गरिएको बताउँदै आगामी दिनमा अन्य संरचना थप्दै जाने योजना रहेको उनको भनाइ छ।