म्याग्दी जिल्लाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चे जोड्ने सडक योजनाको माझफाँट–लेकफाँट खण्डमा सात किलोमिटर ५०० मिटर सडक कालोपत्र भएको छ।
सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रममार्फत जलजला गाउँपालिका–३ माझफाँटको भुरतुलादेखि वडा नं ५ लेकफाँटको गिद्धेश्वरसम्मको बाटो कालोपत्र भएको हो।
दुई लेनको यो सडकको एक किलोमिटर ४०० मिटर ढलान भएको छ। ट्र्याक खुलेको १५ वर्षपछि सडक कालोपत्र र ढलान गरिएको हो। जलजला गाउँपालिकाले पनि बेनीदेखि भुरतुलासम्मको दुई किलोमिटर सडक स्तरोन्नति गरेको छ।