१४ बैशाख २०८२ , आईतवार

बाँकेमा पशु प्रजनन कार्यालयको जग्गा कटानको जोखिममा

News
९ बैशाख, बाँके ।

खजुरा गाउँपालिका-२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन मानखोलाको कटानमा पर्दै आएको छ । तटबन्ध नहुँदा करिब दुई बिघा खेतीयोग्य जमिन मानखोलाले कटान गरेर क्षति पुर्‍याएको छ ।

राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. खिमानन्द खनालका अनुसार धेरै वर्षदेखि मानखोलाले जमिन कटान गर्दै आएको र पछिल्लो दुई वर्षमा कटान तीव्र भएको छ । "पछिल्लो वर्षमा मात्रै करिब डेढ बिघा खेतीयोग्य जमिन मानखोलाले कटान गरेर बगाएको छ," उनले भने । यो वर्ष तटबन्धन गर्न नसकिए थप दुई बिघा जमिन कटानको जोखिममा रहेको खनालले जानकारी दिए । दुई वर्षसम्म पनि तटबन्धन गर्न नसकिए मानखोलाले पशु प्रजनन कार्यालयसँगसँगै गुराँसपुर बस्तीमा पस्ने खतरा बढ्दै गएको उनले बताए ।

कटान रोकथामका लागि पटकपटक मन्त्री, सचिव, महानिर्देशक र सरोकार भएका निकायमा पहल गरे पनि आवश्यक बजेट उपलब्ध हुन नसक्दा समस्या बढ्दै गएको उनको गुनासो छ । यहाँ गरिँदै आएको जौ घाँस र डाले घाँसको रुख बर्खामा आउने बाढीले कटान गरेर लैजाने गरेको छ ।

कार्यालयका पशुसेवा प्राविधिक देवनारायण जैशीका अनुसार कटान रोक्न तटबन्धको व्यवस्था नभए मानखोला खेतीयोग्य जमिनमा पसेर ठूलो धनजनको क्षति पुर्‍याउनेछ । जिल्ला सदरमुकाम नेपालगञ्जबाट १५ किलोमिटर पश्चिमतर्फ रहेको खजुरा–२ गौघाटमा करिब ३४.४ हेक्टर क्षेत्रफलमा कार्यालय अवस्थित छ । जसमा दुई हेक्टरमा वन जङ्गल, दुई हेक्टरमा कार्यालय संरचना र २५ हेक्टर जमिनमा घाँस खेती गरिएको छ ।

यस कार्यालयमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका नौ-नौ वटा र लुम्बिनी प्रदेशका छ जिल्ला गरी कूल २४ जिल्लामा कृत्रिम गर्भाधान सेवा सञ्चालनमा सहजीकरण गर्दै आएको छ ।