२३ जेष्ठ २०८२ , शुक्रबार

बागमती प्रदेशसभाबाट दुई विधेयक पारित

News
२१ जेष्ठ, काठमाण्डौँ ।

बागमती प्रदेशसभाको मङ्गलबार बसेको बैठकले दुई वटा विधेयक सर्वसम्मतिबाट पारित गरिएको छ। सो बैठकबाट पारित गरेको विधेयकमा क्रमशः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८२ र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ रहेका छन्।

प्रदेशसभाका प्रमुख भुवनकुमार पाठकले उक्त विधेयक सो बैठकमा निर्णयार्थको लागि प्रस्तुत गरेका थिए। सो बैठकमा स्वास्थ्यमन्त्री किरण थापा मगरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई पारित गरियोस् भने प्रस्ताव पेस गरेका थिए।

प्रदेश कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरियोस् भने प्रस्ताव प्रस्तुत गरे।

सो बैठकमा प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ माथि विचार गरियोस् भने प्रस्ताव प्रस्तुत गरेका थिए।

त्यसैगरी उनले प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलको लागि प्रदेश मामिला समितिमा पठाइयोस् भने प्रस्ताव पेस गरेका थिए।