बागलुङका किसान आधुनिक कृषियन्त्रको प्रयोगतर्फ आकर्षित भएका छन्। एक दशकअघिसम्म परम्परागत खेती प्रणाली अपनाउने किसान अहिले खेतबारी जोत्न, धान, गहुँ काट्न र चुट्न आधुनिक यन्त्र प्रयोग गर्न थालेका हुन्। जिल्लाको ग्रामीण क्षेत्रसम्मै किसानले यान्त्रिक हलो, थ्रेसर मेसिन, चाप कटर लगायतका यन्त्रहरू प्रयोग गरिरहेका छन्।
गलकोट नगरपालिका–८ का किसान बलिभद्र सापकोटाले काम छिटो हुने र शक्ति कम लाग्ने भएकाले आधुनिक यन्त्र प्रयोग गर्न थालिएको बताए। पहिले आठ/दश मुरी गहुँ काट्न १२ जना खेतलाले दिनभरि काम गर्नुपर्नेमा अहिले थ्रेसर मेसिनले एकैछिनमा काम सकिने उनले बताए।
काठेखोलाका किसान कुलप्रसाद कँडेलले बाली लगाउन र भित्र्याउन मेसिनले ठूलो भूमिका खेलेको बताए। युवा शक्ति विदेश पलायन भएपछि गाउँमा खेतला पाउनै मुस्किल भएको उनको भनाइ छ। सरकारले हरेक किसानलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन बढाउन सहयोग गर्नुपर्ने उनले बताए।
काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले किसानलाई मिनिटेल हलो, चाप कटर, थ्रेसर मेसिनलगायतका यन्त्रहरू अनुदानमा दिँदै आएको बताए। आधुनिक यन्त्रले किसानलाई उत्पादनमा ठूलो टेवा पुर्याएको उनको भनाइ छ।
"गाउँ–गाउँमा आधुनिक हलो, थ्रेसरलगायतका थुप्रै औजारहरू भित्रिएका छन्, जसले किसानको कामलाई सहज बनाएको छ," अध्यक्ष थापाले भने, "गाउँपालिकाले किसानका आवश्यकताका आधारमा अनुदानमा उपकरण दिन्छौँ।"