तनहुँको आँबुखैरेनी बजारलाई ‘नो हर्न’ क्षेत्र घोषणा गरिएको छ । आँबुखैरेनी सेवा समाजको सक्रियतामा इलाका प्रहरी कार्यालय आँबुखैरेनीले बजार क्षेत्रलाई ‘नो हर्न’ घोषणा गरेको हो।
समाजले सोमबार प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र बनाउन माग गरेको थियो। बजार क्षेत्रमा हर्नले ध्वनि प्रदूषण बढाएकाले निषेध क्षेत्र बनाउन माग गरिएको समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठले बताए।
प्रहरीले बजारका विभिन्न ठाउँमा आज ‘नो हर्न’ सम्बन्धी सूचना राखेको छ। प्रहरी निरीक्षक सुवेदीले बजार क्षेत्रलाई ध्वनि प्रदूषणमुक्त बनाउने र दुर्घटनाको जोखिम घटाउने उद्देश्यसहित ‘नो हर्न’ घोषणा गरिएको जानकारी दिए।
त्यस्तै, आँबुखैरेनी गाउँपालिकास्थित सामुदायिक विद्यालयमा प्रहरी सम्पर्क पुस्तिका लागू गरिने भएको छ। गाउँपालिकाका छ वटै वडामा रहेका सामुदायिक विद्यालयमा नेपाल प्रहरी प्रधान कार्यालयले तयार गरेको प्रहरी विद्यालय सम्पर्क पुस्तिका समावेश गर्ने सहमति भएको हो।
गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार ‘स्थानीय तह–प्रहरी विद्यालय सम्पर्क पुस्तिका २०८०’ मा उल्लेख गरिएका सामग्री गाउँपालिकाभित्रका सबै विद्यालयका पाठ्यक्रममा समावेश गर्ने सहमति भएको छ। यस पाठ्यपुस्तकले विद्यार्थीमा कानुनी चेतना, सामाजिक उत्तरदायित्व र सुरक्षाबारे जानकारी बढाउने विश्वास लिइएको उनले बताए। आँबुखैरेनी गाउँपालिकाका छ वटा वडामा ३५ सामुदायिक विद्यालय छन्, जहाँ करिब पाँच हजार विद्यार्थी अध्ययनरत छन्।