१४ बैशाख २०८२ , आईतवार

मादी नदी लिफ्ट खानेपानी योजना अलपत्र, उपभोक्ता मर्कामा

News
८ बैशाख, तनहँ ।

व्यास नगरपालिका–१ मा निर्माणाधीन मादी नदी लिफ्ट खानेपानी योजना निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र परेको छ। भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको संयुक्त लगानीमा सुरु भएको योजना समयमा सम्पन्न नहुँदा स्थानीय उपभोक्ता मर्कामा परेका छन्।

पराजुली कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको उक्त योजनाको काम अलपत्र छाडेर निर्माण व्यवसायी सतिश पराजुली सम्पर्कविहीन भएपछि योजनाको काम रोकिएको भादगाउँ खानेपानी तथा उपभोक्ता संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए।

१९ करोडको लागतमा २०८० भदौभित्र सम्पन्न गर्नेगरी २०७९ भदौमा सम्झौता भएकोमा हालसम्म करिब ८० प्रतिशत मात्र भौतिक प्रगति भएको छ। सरकारको ७० र संस्थाको ३० प्रतिशत लगानी रहेको यो योजनाको म्याद तीन पटक थप भइसकेको छ।

अमिलीभञ्ज्याङमा चार लाख लिटर क्षमताको रिजर्भ ट्याङ्की निर्माण भए पनि भदु्रमा ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माण कार्य अधुरै रहेको छ। व्यास–४ चुरेखोल्सीस्थित मादी नदीबाट पानी ल्याएर वडावासीलाई वितरण गर्ने लक्ष्य राखिएको यो योजना समयमा सम्पन्न नहुँदा पानी आपूर्तिमा कठिनाइ भएको व्यवस्थापक श्रेष्ठले बताए।

२०५६ सालमा स्थापना भएको खानेपानी संस्थाले हाल दुई हजार ६८० निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ। तर, बस्ती विस्तारसँगै पानीको अभाव भएपछि वैकल्पिक खानेपानीको रूपमा यो योजना अघि सारिएको थियो। योजना अलपत्र पर्दा स्थानीयवासीले सास्ती खेप्नु परेको छ।