१३ बैशाख २०८२ , शनिबार

सिरहाको बरियारपट्टीका दलित समुदायमा ४८ वटा कलधारा निर्माण

News
१० बैशाख, काठमाण्डौँ ।

सिरहाको बरियारपट्टी गाउँपालिका-४ स्थित तेनवापट्टीको दलित बस्तीमा ४८ वटा कलधारा निर्माण गरिएको छ । गाउँपालिका र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा दुई महिनाअघि कलधारा निर्माण भएपछि ६० दलित परिवारको बसोबास रहेको उक्त बस्तीका बासिन्दाले खानेपानीको समस्याबाट मुक्ति पाएका छन् ।

स्थानीय अधनियादेवी सदायका अनुसार यसअघि एउटा कुवाको पानी पिउन, हातमुख धुन, नुहाउन र भाँडा माझ्न प्रयोग गर्नुपर्ने बाध्यता थियो । तर, अहिले बस्तीमा १० वटा कलधारा बनेपछि पानीको समस्या समाधान भएको छ ।

त्यस्तै, बरियारपट्टीको वडा नं २ स्थित खोक्सीको दलित बस्तीमा पनि दुई वटा कलधारा जडान गरिएको छ भने अन्य केही निर्माणाधीन छन् । वडा नं १ स्थित नर्गीमा रहेको दलित बस्तीमा छ वटा कलधारा निर्माण गरिएको छ ।

दलित जनकल्याण युवा क्लबका कार्यक्रम संयोजक लालुप्रसाद पोखरेलका अनुसार एकीकृत जीविकोपार्जन सुधार परियोजनाअन्तर्गत बरियारपट्टी गाउँपालिकाका विभिन्न दलित बस्तीमा ४८ वटा कलधारा उपलब्ध गराइएको हो । एउटा कलधारा निर्माण गर्न रु ३० देखि रु ६० हजारसम्म लागत लागेको छ । परियोजनाले दलित र सीमान्तकृत समुदायको जीविकोपार्जन, आम्दानी तथा उत्पादनमा वृद्धि, सरसफाइ, स्वच्छता र खाद्य व्यवहार सुधार तथा सामुदायिक समूहको सशक्तीकरणका लागि भूमिका निर्वाह गरिरहेको उनले बताए ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामजुलुम मण्डलले विभिन्न संस्थाहरूसँग सहकार्य र समन्वय गर्दै विपन्न दलित समुदायको जीवनस्तर उकास्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।