१४ बैशाख २०८२ , आईतवार

सुनसरीमा ब्राउन सुगरसहित ११ जना पक्राउ

News
५ बैशाख, काठमाण्डौँ ।

सुनसरी प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर (खैरो हिरोइन) सहित ११ जना कारोबारीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

सुनसरीको कोशी गाउँपालिका–१ पुरीटोल र भोक्राहा नर्सिङ गाउँपालिका–६ ढलान रोडमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई लागूऔषध ब्राउन सुगर ३०.२० ग्रामसहित पक्राउ गरिएको डिएसपी खतिवडाले बताए।

पक्राउ पर्नेहरूमा सुनसरीका करण चौधरी, पर्वत यादव, रोमन चापाँगाई, मिलन तामाङ, सरोज विश्वकर्मा, किशोर मादेन, निरन श्रेष्ठ र मोरङका प्रेम कुमार राई, अनिल खवास, अजित श्रेष्ठ र दिपेश तामाङ रहेका छन्।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।