१४ बैशाख २०८२ , आईतवार

राजसंस्थाको पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिकलाई नेपालबाट निष्कासन

News
२ बैशाख, काठमाण्डौँ ।

नेपाल सरकारले राजसंस्थाको पक्षमा नाराबाजी गरेको आरोपमा पक्राउ परेका एक अमेरिकी नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले ५८ वर्षीय जुलियन किर्पाललाई नेपाल प्रवेशमा दुई वर्षको लागि प्रतिबन्ध लगाउँदै निष्कासन (डीपोर्ट) गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालयका अनुसार किर्पाल नेपालको राजनीतिक गतिविधिमा संलग्न भएको पाइएकाले उनीविरुद्ध यो कदम चालिएको हो। एक स्रोतले बताए अनुसार, "उहाँ विदेशी नागरिक भएर राजनीतिक गतिविधिमा संलग्न हुनुभयो। पक्राउ पर्दा राजसंस्थाको पक्षमा नाराबाजी गर्नुभएको थियो। कुनै पनि विदेशी नागरिकले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न मिल्दैन।"

किर्पाललाई गत चैत १४ गते माइतीघरबाट पक्राउ गरिएको थियो। उनले राजसंस्थाको पक्षमा नाराबाजी गर्नुका साथै पम्प्लेट प्रदर्शन गरेका थिए। त्यसपछि प्रहरीले उनलाई अध्यागमन विभागमा बुझाएको थियो। अनुसन्धानका क्रममा उनी पर्यटक भिसामा नेपाल आएको र राजावादीहरूसँग निरन्तर भेटघाट गरेको पाइएको थियो।

प्रहरीका अनुसार, "पर्यटक भिसामा आएर नेपालको सार्वभौमसत्तामाथि प्रहार हुने गतिविधि गर्न पाइँदैन। कानुनले नै यसलाई निषेध गरेको छ। तर जुलियन किर्पाल निरन्तर राजनीतिक गतिविधिमा संलग्न भएको पाइयो। त्यसैले उहाँलाई निष्कासन गर्ने निर्णय गरिएको हो।" किर्पाललाई आज (मंगलबार) अमेरिका फर्काइने भएको छ।