१ असार २०८२ , आईतवार

गणतन्त्र दिवसलाई एमालेले उत्सवका रूपमा मनाउने

News
१२ जेष्ठ, काठमाण्डौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने भएको छ। ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिए।

सातदशक लामो बलिदानीपूर्ण सङ्घर्षको बलबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वानसमेत गरिएको उनले बताए। उक्त उत्सवमा सक्रिय सहभागिताका लागि बैठकले सबैलाई आह्वानसमेत गरेको छ।

उक्त दिन उपत्यका बाहिर पार्टी कमिटीले पालिकास्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गर्दै बैठकले त्यसको तयारीमा जुट्न सबै मातहतका कमिटीलाई निर्देश गरेको पार्टी महासचिव पोखरेलले जानकारी दिए। काठमाडौँ उपत्यकाका हकमा उपत्यकाका पार्टी कमिटीको आयोजनामा सांस्कृतिक झाँकीसहित दिवसमा उत्सव आयोजना गरिने र त्यसका लागि झाँकीको संयोजन नेपाल जनसांस्कृतिक महासङ्घले गर्नेछ।

जनताको परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्र ऐतिहासिक उपलब्धि रहेको अवस्थामा गणतन्त्रलाई सबल र सुदृढ बनाउने कुरामा पार्टीले जोड दिने महासचिव पोखरेलले बताए। गणतन्त्रलाई अझ सबल र सुदृढ बनाउनुपर्ने कुरामा बैठकले जोड दिएको उनको भनाइ छ।