विद्यालय शिक्षा ऐन जारी, गुणस्तरीय शिक्षा सुनिश्चितता तथा शिक्षक, कर्मचारी र विद्यार्थीको हकहितका लागि नेपाल शिक्षक महासंघले जारी राखेको आन्दोलन निर्णायक चरणमा प्रवेश गरेको छ। महासंघले आन्दोलनमा ऐक्यबद्धता जनाउन सम्पूर्ण शिक्षक, विद्यालय कर्मचारी, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, गाउँ तथा नगरपालिकालगायत शैक्षिक सरोकारवाला सबै पक्षलाई हार्दिक अनुरोध गरेको छ।
शिक्षक महासंघले काठमाडौँ केन्द्रित आन्दोलनलाई अन्तिम र निर्णायक बनाउँदै सम्पूर्ण शिक्षक र कर्मचारीलाई देशभरका विद्यालय बन्द गरी काठमाडौँमा भेला हुन पुनः आह्वान गरेको छ। आन्दोलनको सफलताका लागि विद्यालय बन्द गर्दै सम्पूर्ण शैक्षिक क्रियाकलाप स्थगित गर्न समेत आग्रह गरिएको छ।
महासंघले आन्दोलन अवधिभर कुनै पनि विद्यालय सञ्चालन नगर्न, प्रवेश परीक्षा, ग्रेड परीक्षा, उत्तरपुस्तिका परीक्षण, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता क्रियाकलाप नगर्न स्पष्ट आग्रह गरेको छ। साथै, आउँदै गरेको कक्षा १२ को परीक्षा प्रभावित नहोस् भन्ने उद्देश्यले शिक्षक र कर्मचारीहरूमाझ विशेष सहयोगको अपील गरिएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा विद्यालय शिक्षा ऐनको घोषणालाई विद्यालय शिक्षक–कर्मचारी मात्र नभई सम्पूर्ण शैक्षिक क्षेत्र, विद्यार्थीको भविष्य र शिक्षा प्रणालीको गुणस्तर सुधारसँग जोडिएको महत्त्वपूर्ण विषयका रूपमा व्याख्या गरिएको छ।
शिक्षक महासंघले सरकारसँग यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनलाई अझ व्यापक बनाउने तयारी गरेको जनाएको छ।