१४ बैशाख २०८२ , आईतवार

शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य अन्योलमा, परीक्षा प्रभावित हुने सम्भावना

News
८ बैशाख, काठमाण्डौँ ।

सामुदायिक विद्यालयका शिक्षकहरू तीन सातादेखि काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएपछि लाखौं विद्यार्थीको भविष्य अन्योलमा परेको छ। सरकारले माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै शिक्षकहरूले आन्दोलन जारी राखेका छन्, जसका कारण विद्यार्थी भर्ना अभियान र पठनपाठन प्रभावित भएको छ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि शिक्षकहरू आन्दोलनमा छन्। सरकारले वैशाख १२ गते संसद्को वर्षे अधिवेशन बोलाउने निर्णय गरे पनि शिक्षकका अन्य मागहरू सम्बोधन नगरेकाले आन्दोलन जारी रहने महासंघले जनाएको छ।

शिक्षक आन्दोलनका कारण वैशाख २ गतेदेखि सुरु भएको विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ। यसले निजी विद्यालयहरूलाई फाइदा पुग्ने देखिएको छ, किनकि सामुदायिक विद्यालय बन्द हुँदा अभिभावकहरू निजी विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न बाध्य हुनेछन्।

महासंघले सरकारले माग सम्बोधन नगरे कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेको छ। वैशाख ११ गतेदेखि सुरु हुने परीक्षामा शिक्षकहरू सहभागी नहुने अडानमा छन्। यसले ५ लाख ५३ हजार विद्यार्थीहरू प्रभावित हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डले परीक्षा लिने वातावरण बनाउन महासंघलाई आग्रह गरे पनि शिक्षकहरू आन्दोलनबाट पछि हटेका छैनन्।

कक्षा १२ को परीक्षा समयमा सञ्चालन नभए त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा स्नातक तहको भर्ना र प्रवेश परीक्षामा समेत असर पर्नेछ। विदेशमा अध्ययन गर्न जाने तयारीमा रहेका विद्यार्थीहरूलाई पनि समस्या पर्नेछ। यस वर्ष कक्षा १२ को परीक्षाका लागि १ हजार ५९१ परीक्षा केन्द्र तोकिएको छ।

शिक्षकहरूले शनिबारसम्म बिहान ११ बजेदेखि अपराहृन ४ बजेसम्म आन्दोलन गर्दै आएकोमा आइतबारबाट भने बिहान ९ देखि १२ बजेसम्मलाई समय परिवर्तन गरेका छन्।