फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स लगायतका सामाजिक सञ्जाल नेपाल सरकारको दर्ता प्रक्रियामा आउन अटेर गरेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको ३० दिने समयसीमा आइतबार सकिए पनि उनीहरु दर्ता प्रक्रियामा नआएका हुन्।
सरकारले गत चैत ७ गते तेस्रो पटक सूचना जारी गर्दै ३० दिनभित्र दर्ता हुन निर्देशन दिएको थियो। उक्त म्याद आइतबार सकिए पनि सामाजिक सञ्जाल प्लेटफर्महरू सूचीकरणमा आएनन्।
यद्यपि, सरकारले सामाजिक सञ्जाललाई दर्ताका लागि थप समय दिने तयारी गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले अब सामाजिक सञ्जालबारे सरकारले उचित निर्णय लिने बताएका छन् ।
सरकारले २०८० सालमै ल्याएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका अनुसार सामाजिक सञ्जालहरू नेपालमा अनिवार्य दर्ता हुनुपर्छ। सरकारले सामाजिक सञ्जाललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गराउन, नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वःनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्न निर्देशन दिएको छ । यस बाहेक सरकारले सामाजिक सञ्जाल प्लेटफर्मका लागि थप जिम्मेवारीहरू पनि तोकेको छ। सामाजिक सञ्जाल दर्ता नभए सरकारले के कस्ता कदम चाल्छ भन्ने विषयमा भने अझै अन्योल छ ।