राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजावादीको प्रदर्शनमा पक्राउ परेका आफ्ना नेताहरूको रिहाईको माग गर्दै आज बानेश्वर क्षेत्रमा प्रदर्शन गरेको छ। दिउँसो राप्रपाका नेता तथा कार्यकर्ता सडकमा उत्रिएर सरकारविरुद्ध नाराबाजी गरेका थिए।
प्रदर्शनकारीहरूले "गृहमन्त्री राजीनामा दे", "सरकार मुर्दावाद", "हाम्रा नेता रिहाई गर" जस्ता नारा लगाएका थिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण रूपमा भेला हुन पाउने अधिकारलाई सरकारले कुण्ठित गरेको आरोप लगाएका छन्। उनले सरकारले जनतालाई सीमित दायरामा बाँध्न खोजेको भन्दै त्यसको विरोधमा राप्रपाले प्रदर्शन गरेको बताए।
लिङ्देनका अनुसार पार्टीका नेताहरू पक्राउ परेपछि उनीहरू सामूहिक रूपमा थुनामा जान तयार भएको सन्देश दिन खोजेका छन्।
यसैबीच, गृह मन्त्रालयले राप्रपाले निषेधित क्षेत्र तोड्ने भनेर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले संविधान र कानुनको उल्लंघन गर्ने जोसुकैलाई कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ।