२ असार २०८२ , सोमबार

कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे परराष्ट्रमन्त्रीको पुनः आग्रह

News
३ जेष्ठ, काठमाण्डौँ ।

 परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहल गरिदिन आग्रह गरेकी छन्।

सगरमाथा संवादमा भाग लिन काठमाडौं आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटमा मन्त्री राणाले हमासको अपहरणमा परेका नेपाली युवक विपीन जोशीको अवस्थाबारे कुराकानी गरेकी हुन्।

मन्त्री राणाले जोशीको रिहाइ र नेपाल फिर्तीका लागि कतारले गरिरहेको प्रयासका लागि धन्यवाद दिँदै निरन्तर पहल जारी राख्न आग्रह गरिन्। यसअघि पनि मन्त्री राणाले कतारका विदेशमन्त्री तथा इजरायलसँग हमासको शान्ति वार्ताका प्रमुख मध्यस्थकर्तासँग विपीनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन्।

सन् २०२३ देखि हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइ र स्वदेश फिर्ताको लागि सहयोग गर्न मन्त्री राणाले विश्व समुदायसँग आग्रह गर्दै आएकी छन्। शुक्रबारको भेटमा मन्त्री राणाले सगरमाथा संवादमा भएको कतारको सहभागिताका लागि धन्यवाद दिँदै जलवायु परिवर्तनको असर कम गर्नका लागि गर्न सकिने सहकार्यबारे पनि कुराकानी गरिन्।