राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भारतको जम्मुकश्मिरको पहलगाममा मंगलबार आतंकवादी समूहले पर्यटकमाथि गरेको आक्रमणको गहिरो दुःख व्यक्त गरेको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति जारी गर्दै उक्त आक्रमणमा एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको घटनाप्रति दुःख प्रकट गरेका छन्। राप्रपाले यस अमानवीय घटनाको भर्त्सना गरेको छ।
अध्यक्ष लिङ्देनले जुनसुकै बहानामा हुने मानवता विरुद्धको आतंकवादी कार्य अस्वीकार्य रहेको बताउँदै राप्रपा यस्ता गतिविधिको विपक्षमा रहेको उल्लेख गरे। विज्ञप्तिमा छिमेकी देश भारत, भारतीय जनता र सरकारप्रति सहानुभूति व्यक्त गरिएको छ। आक्रमणमा ज्यान गुमाएका बुटवलका सुदीप न्यौपानेसहित सबै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।