राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ। सर्वोच्च अदालतमा आज बिहान भएको गोला प्रक्रियाबाट न्यायाधीश फुयालको एकल इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने भएको हो।
सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका लामिछानेको रिहाइका लागि उनकी श्रीमती निकिता पौडेलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्। निवेदनमा रविको पक्राउ गैरकानुनी रहेको दाबी गरिएको छ।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई १ करोड धरौटीमा रिहा गरेको थियो। तर, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते उक्त आदेश बदर गर्दै उनलाई थुनामा पठाउन आदेश दिएपछि लामिछाने रुपन्देही कारागारमा छन्।