राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अपनाउनुपर्नेमा जोड दिए ।
विश्व वातावरण दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनीले प्रकृतिमुखी जीवनशैली अपनाउनमा जोड दिएका हुन् ।
“प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहोर वातावरणीय हिसाबले चुनौतीपूर्ण बन्दै गएको, विकास र वातावरण एक आपसका परिपूरक हुन् भन्ने अवधारणा बमोजिम हामी सबैले प्रकृतिमुखी जीवनशैली अपनाई वातावरण सुधारका काम अगाडि बढाउन म सम्बन्धित सबैलाई हार्दिक आह्वान गर्दछु”, राष्ट्रपतिले शुभकामना सन्देशमा भने ।
‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइरहेको सन्दर्भमा आजको दिन हामी सबैले आ–आफ्नो घर वरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीवजन्तुबीच पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई देशको संविधानले दिएको प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन प्रण गर्ने दिन भएको उनीले सन्देशमा उल्लेख गरे ।
वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई कसरी दिगो बनाउने भन्ने तर्फ हामी सबैको ध्यान जानुपर्ने आवश्यकता महसुस भएको हुँदा प्लाष्टिकको प्रयोगबाट हुने प्रदूषणलाई न्यूनीकरण गर्दै वातावरण सुधारका काम अगाडि बढाउन सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई एकजुट भएर लाग्न राष्ट्रपतिले अनुरोध गरे ।
वातावरण संरक्षण तथा सम्वद्र्धनको गहन अभिभारामा संलग्न सरकारी तथा गैरसरकारी निकाय एवं विकास साझेदारलगायत सम्बद्ध सबैलाई हार्दिक धन्यवाद दिँदै राष्ट्रपति पौडेलले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको वातावरणीय असरलाई कम गर्न नेपालले विभिन्न राष्ट्रिय एवं अन्तरराष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिबद्धता कार्यान्वयनका लागि आजको दिनले थप ऐक्यबद्धता र उत्साह प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरे ।