नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अगाडि बढाएको बताएका छन्। नेकपा (माओवादी केन्द्र) र समाजवादी पार्टीबीच पार्टी समायोजनका लागि ललितपुरमा आयोजित कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्।
प्रचण्डले गत आमचुनावदेखि नै एकताको पक्षमा छलफल चलाएको र विचार, राजनीतिक आस्थाका आधारमा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर जारी रहेको उल्लेख गरे। उनले भने, “सबै कम्युनिस्ट एक ठाउँमा हुँदा जनमत ठूलो हुन्छ, यो एकताले ठूलो ढोका खोल्नेछ।”
कार्यक्रममा नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठले नेताहरूको दोष नहुँदानहुँदै पनि समृद्धिको यात्रामा समाजवाद निर्माणका लागि बहसलाई अगाडि बढाउने क्रममा पार्टी छिन्नभिन्न हुन पुगेको बताए। उनले विगतको प्रयोगबाट नेपालको समृद्धि हासिल गर्ने परिणाम आउन नसकेको तर्क गरे।
श्रेष्ठले नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिमा रहेका दुई तिहाई सदस्यले अनुमोदन गरेर एकतामा आएको स्पष्ट पारे। उनले हिजो जानअन्जानमा गरेका गल्तीबाट देश र पार्टीले क्षति भोग्नुपरेको भन्दै विचार र राजनीतिक एजेन्डा मिल्नेहरू छुट्टाछुट्टै भएर बस्नु आवश्यक नभएकाले एकता प्रक्रियामा सामेल भएको बताए।
महासचिव देव गुरूङले समाजवादी क्रान्तिका लागि यसका पक्षधरसँग एकतालाई निरन्तरता दिने जानकारी गराए। दुई पार्टीबीच पार्टी समायोजनपश्चात् गंगानारण श्रेष्ठलाई सचिवको जिम्मेवारी दिइएको महासचिव गुरूङले जानकारी दिए।