नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकार ८२ साल कट्दैन भनेर आफूले राजनीतिक विश्लेषण र कांग्रेस एमाले नेताहरूसँगको संवादका आधारमा बताएको प्रष्टीकरण दिएका छन्। बिहीबार प्रेस सेन्टर रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
आफूले सरकारबारे टिप्पणी गर्दा सरकारमा नभएकाले प्रचण्डले कुण्ठा पोखेको भनेर एमालेले प्रचार गरेकोप्रति आपत्ति जनाउँदै प्रचण्डले आफूलाई कुनै कुण्ठा नभएको बताए।
'यो सरकार मैले नयाँ वर्ष २०८२ कट्ने आधार छैन र कट्दैन भनेर राजनीतिक विश्लेषणका आधारमा भनेको हो', प्रचण्डले भने, 'नेपाली कांग्रेस र एमालेका कैयौँ नेतासँग भएका संवादका आधारमा यो सरकार लामो समय जाने स्थिति छैन भनेको हो।'
झापादेखि रुपन्देही प्रवेश गर्दै गर्दा माओवादीप्रति जनताको अपार समर्थन रहेको बताउँदै उनले माओवादी केन्द्रलाई यो सरकार ढालेर अहिले सरकारमा आउने कुनै रुचि नभएको बताए।
'हामीलाई सरकारमा जाने कुनै रुचि छैन। हाम्रो कुनै खालको हतारो पनि छैन। तर यसको अर्थ यो सरकार चलिरहोस्, नेपाली जनताले दुख पाइरहुन् भन्ने पनि एउटा जिम्मेवार र शान्ति सम्झौताको हस्ताक्षरकर्ताको नाताले त्यो मनसाय होइन', प्रचण्डको भनाइ छ।
उनले सरकार असाध्यै अपारदर्शी रहेको भन्दै दलाल र बिचौलियाको पहलमा बनेको भएकाले जनताले यो सरकारबाट आशासमेत गर्न नसकेको बताए।