२८ जेष्ठ २०८२ , बुधबार

समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान जनतासँग जोडिने अभियानमा छौँ : प्रचण्ड

News
२७ जेष्ठ, काठमाण्डौँ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताएका छन्।

आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको बताए। उनले भने, “समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको छ, यो अभियानमा जोडिन म सबैलाई आग्रह पनि गर्दछु।”

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले सो पार्टी प्रवेश र समायोजनले पार्टीको अभियानमा थप ऊर्जा तथा उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे।

साथै अध्यक्ष दाहालले माओवादी केन्द्रप्रति आकर्षक बढ्दै गएको उल्लेख गर्दै पार्टीमा समायोजन हुन आउनेलाई उचित जिम्मेवारी दिइने बताए।