१४ बैशाख २०८२ , आईतवार

प्रधानमन्त्री ओली भन्छन्ः विद्यार्थी टिकाउन अझै मेहेनत गर्नुपर्छ

News
२ बैशाख, काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियानलाई सफल पार्न सबैलाई आग्रह गरेका छन् । सोमबारदेखि सुरु भएको भर्ना अभियानको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले अभिभावक र सरोकारवालाहरूको भूमिका महत्वपूर्ण रहने बताए।

सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न शिक्षालाई समावेशी र गुणस्तरीय बनाउनुपर्नेमा उनले जोड दिए। 'समृद्ध नेपाल, सुखी नेपाली' को राष्ट्रिय आकांक्षा पूरा गर्ने माध्यम शिक्षालाई बनाउनुपर्ने बताउँदै प्रधानमन्त्रीले गुणस्तरीय र रोजगारमूलक जनशक्ति उत्पादनमा लाग्न सबैलाई आग्रह गरे।

अझै पनि २० प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले गरिबी न्यूनीकरणको पहिलो शर्त शिक्षा भएको बताए। आधारभूत तहको भर्नादरमा सुधार आए पनि विद्यार्थी टिकाउ दर बढाउनुपर्नेमा उनको जोड छ। शिक्षालाई स्थानीय ज्ञान, सीप र प्रविधिसँग जोडेर आधुनिकीकरण गर्नुपर्ने र देशमै रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ छ।

शिक्षा क्षेत्रमा बजेट बढाउन र विद्यालय शिक्षा विधेयक २०८१ पारित गराउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताए। अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिल गर्न तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ।

शिक्षामा गरिएको लगानीको प्रभावकारी उपयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए। ज्ञानलाई व्यवहारमा उतार्नुपर्ने र समाजको भलाइका लागि प्रयोग गर्नुपर्ने उनको भनाइ छ।

नेपालजस्तो उर्वर देशमा अझै पनि बालबालिका बेहाल अवस्थामा सडकमा रहनु शोभनीय नभएको प्रधानमन्त्रीले बताए। अभिभावकविहीन बालबालिकाको अन्त्यका लागि सरकारले अभियान चलाइरहेको र यसले भर्ना अभियानमा सहयोग पुग्ने उनको अपेक्षा छ।