१३ बैशाख २०८२ , शनिबार

कक्षा १२ को परीक्षा स्थगित, प्रधानमन्त्री ओलीले दिए निर्देशन

News
९ बैशाख, काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा स्थगित गर्न निर्देशन दिएका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई बोलाएर ओलीले परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन्।

शिक्षकहरू आन्दोलनमा उत्रिएका कारण परीक्षा सञ्चालनमा असहज परिस्थिति सिर्जना भएको भन्दै प्रधानमन्त्रीले परीक्षा स्थगित गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा हुने तालिका थियो भने परीक्षा सरेर २१ गते हुने भएकाे छ । 

अपडेटः
कक्षा १२ को परीक्षा १० दिन पछि सरेको छ। यसअघि वैशाख ११ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी थियो।

प्रधानमन्त्री केपी ओलीको सुझावपछि राष्ट्रिय परीक्षा बोर्डले आज साँझ बैठक बसेर वैशाख २१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

बोर्डका अध्यक्ष महाश्रम शर्माले दिए अनुसार, कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सारेर २१ गतेदेखि सञ्चालन हुनेछ। आज बिहान बसेको बोर्ड बैठकले निजामति कर्मचारी परिचालन गरेर भए पनि बिहीबारदेखि नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो।

कर्मचारीले सहयोग नगर्ने र शिक्षकबिना परीक्षा सञ्चालन गर्ने निर्णय विवादमा आएपछि बोर्डका पदाधिकारीले दिनभर शिक्षा मन्त्रालय र सरकारका विभिन्न निकायका प्रतिनिधिसँग छलफल गरेका थिए।

आजै साँझ बोर्ड अध्यक्ष शर्मासहितको टोली प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा छलफल गर्न पुगेको थियो। प्रधानमन्त्रीले परीक्षा केही दिन सार्न निर्देशन दिएपछि बोर्ड बैठकले वैशाख २१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

यसअघि बिहानको बोर्ड बैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिलाई सम्पूर्ण जिम्मा दिएर कर्मचारी परिचालन गरी परीक्षा गर्ने निर्णय गरेको थियो। शिक्षक महासङ्घले चैत २० गतेदेखि विभिन्न माग राखेर काठमाडौँमा आन्दोलन जारी राखेपछि परीक्षा प्रभावित बनेको हो।

यस वर्ष कक्षा १२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुनेछन्। परीक्षाका लागि जापानमा एक परीक्षा केन्द्रसहित एक हजार ५९१ परीक्षा केन्द्र तोकिएको छ। परीक्षाका लागि त्यति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याको आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक जना कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी बोर्डले गरेको थियो।