प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति उच्च सम्मान व्यक्त गरेका छन्।
आज सामाजिक सञ्जालमार्फत मदन–आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उनीहरुको विचार र मार्गदर्शन सधैँ प्रेरणा बन्ने बताए। "मदन–आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौं। उहाँको विचार र मार्गदर्शन सधैँ हाम्रो प्रेरणा बन्नेछ। मदन–आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली र उच्च सम्मान व्यक्त गर्दछु," प्रधानमन्त्रीले भनेका छन्।
प्रधानमन्त्री ओलीले ३२ वर्षअघि आजकै दिन जननेता भण्डारी र कुशल सङ्गठक आश्रितलाई गुमाएको उल्लेख गरेका छन्। "जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो," उनले भने।
तत्कालीन एमालेका महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परी निधन भएको थियो।