प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रायसरले आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा विश्व बैंकले गर्दै आएको सहयोग, काठमाडौंमा जारी सगरमाथा संवादको महत्व लगायतका विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री ओलीले नेपालको आर्थिक वृद्धि, गरिबी निवारण र नेपालीको जीवनस्तर सुधारका लागि विश्व बैंकले पुर्याएको योगदानको प्रशंसा गर्दै सरकारले राजस्व परिचालन र विकास खर्चको प्रभावकारी व्यवस्थापनलाई प्राथमिकता दिएको बताए। उनले आगामी बजेटमा समयमै परियोजना सम्पन्न गर्नेगरी व्यवस्था गरिने जानकारी दिए।
उपाध्यक्ष रायसरले विश्व बैंकको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै नेपालले वातावरणीय मुद्दालाई प्राथमिकतामा राखेर सगरमाथा संवादको आयोजना गरेकोमा सफलताको कामना गरे।
विश्व बैंकले नेपालमा यातायात, ऊर्जा, शिक्षा, स्वास्थ्य लगायत १९ क्षेत्रमा दुई मिलियन अमेरिकी डलर लगानी गरेको छ। भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा र विश्व बैंकका देशीय निर्देशक डेभिड एन सिस्लेन लगायतको उपस्थिति थियो।