२७ बैशाख २०८२ , शनिबार

प्रधानमन्त्री ओलीको टिप्पणी: बाघको संख्या अब बढाउनु हुँदैन, जमिन पुग्दैन

News
२७ बैशाख, काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बाघको संख्या पर्याप्त भइसकेको र अब यसलाई बढाउन नहुने धारणा व्यक्त गरेका छन्। शनिबार काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय वन सम्वर्द्धन गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले आफूले बाघको संख्या बढाउन नहुने भन्दा धेरैले नबुझी गाली गरेको गुनासो गरे। प्रधानमन्त्रीले बाघको संख्या थप बढाएमा उनीहरूलाई पर्याप्त जमिन नपुग्ने तर्क राखे।

"अब बाघको संख्या बढाउन सकिँदैन, मिल्दैन भनेको थिएँ। धेरैले बुझ्दै नबुझी कमेन्ट लेखिदिए," उनले भने।

बाघ तस्बिरमा हेर्दा धेरै राम्रो देखिए पनि उसलाई जीवनयापनका लागि आफ्नो क्षेत्र आवश्यक पर्ने कुरालाई मनन गर्न उनले आग्रह गरे। "यो बाघ भन्ने जन्तु फोटामा हेर्दा बडो गज्जबको हुन्छ। तर, साम्नेमा पर्‍यो भने...!" उनले थपे, "फोटामा बाघ हेरेर मात्र कुरा गरेर हुँदैन।"

बाघलाई खाना नपुगेमा त्यो खोजीमा बाहिर निस्कने र मान्छे खानु हुँदैन भनेर ज्ञान दिन नसिकिने भन्दै उनले कटाक्ष गरे। बाघले कानुनको किताब नपढेकोले मान्छे मार्नु हुँदैन भन्ने ज्ञान नहुने उनको भनाइ थियो।

"बाघले कानुनको किताब पढेको हुँदैन, भ्रम राख्नु हुँदैन। मान्छे मार्नु हुँदैन, २० वर्ष जन्मकैद यताउति थाहा छैन," उनले भने।

प्रधानमन्त्री ओलीले बाघलाई खेलाँची गर्ने जनावरको रूपमा लिन नहुने बताए। उनले प्रकृतिको संरक्षणका लागि बाघ जोगाउनु अनिवार्य रहेको स्पष्ट पारे।