प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म विचौलियाको पहुँच छ भनेर लाञ्छित गर्नेहरूलाई आरोप प्रमाणित गर्न चुनौती दिएका छन्।
मदनभण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीले लाज—सरम पचाएर यस्ता आरोप लगाउँछन् भने।
देशमा एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै उनले राजनीतिक स्थायित्व, विकास र सुशासनले गति लिन लागेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको बताए। उनले भने, “एमालेले आफूूलाई आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण गर्ने लक्ष्यमा छौँ। हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुुन्छौँ।”
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको उनले टिप्पणी गरे।
पार्टीभित्रको राजनीतिका हकमा धेरै आलोचनात्मक चेतमा जोड दिनु नपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले विश्लेषणात्मक चेत राख्न सुुझाव दिए। “पार्टीभित्र एकताको चेत चाहिन्छ। विरोधीको आरोपको खण्डन गर्नुपर्छ। विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन”, उनले भने।