१४ बैशाख २०८२ , आईतवार

द्वन्द्वकालीन अपराधमा माफी हुँदैन: प्रधानमन्त्री ओली

News
४ बैशाख, काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउने क्रममा द्वन्द्वकालमा भएका गम्भीर अपराधहरूलाई माफी दिन नसकिने बताएका छन्।

आज नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगमार्फत पीडितलाई न्याय दिलाइने बताए। उनले आयोग गठनको प्रक्रियामा अब ढिलाइ नहुने पनि बताए।

प्रधानमन्त्री ओलीले अधिनायकवाद परास्त भइसकेको र मुलुक लोकतान्त्रिक प्रणालीमा गइसकेकोले अब हत्या, हिंसा, धार्मिक द्वेष र अराजकता स्वीकार्य नहुने बताए। उनले अहिलेको सरकार संयुक्त सरकार भएको र एमालेले राष्ट्र निर्माण र एकताका लागि काम गरिरहेको बताए। साथै, उनले देशको सिमाना र राष्ट्रिय स्वाभिमानमा आँच आउन नदिने प्रतिबद्धता व्यक्त गरे।

विविधतायुक्त मुलुकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको बताउँदै प्रधानमन्त्री ओलीले भूतपूर्व सैनिक तथा प्रहरी संगठनलाई देश र पार्टीप्रति थप बफादार हुन आग्रह गरे। उनले वैशाख ११ गते लोकतन्त्र दिवसका दिन एमालेले युवा सम्मेलन आयोजना गरी जनताको अधिकार र विकासको उत्सव मनाउने बताए।