१४ बैशाख २०८२ , आईतवार

नयाँ वर्ष २०८२ मा जानकी मन्दिरमा भक्तजनको ओइरो, पूजापाठ र दर्शनका लागि घुइँचो

News
१ बैशाख, काठमाण्डौँ ।

नयाँ वर्ष २०८२ को पहिलो दिन आज जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरमा दर्शनार्थी तथा भक्तजनहरूको ठूलो भिड लागेको छ। वर्षभरि शुभ रहोस् र राम्रो होस् भन्ने कामनासहित पूजापाठ गर्न बिहानैदेखि मानिसहरूको ओइरो लागेको हो।

जानकी मन्दिरका साथै राम मन्दिर, जनक मन्दिर र भूतनाथ मन्दिर लगायतका अन्य धार्मिक स्थलहरूमा पनि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ। नयाँ वर्षको दिन मन्दिरमा पूजाआजा गर्नाले विशेष फल प्राप्त हुने र वर्षभरि शुभ रहने धार्मिक विश्वासका साथ दर्शनार्थीहरू मन्दिर आएको धनुषा ट्राफिक प्रमुख हरिबहादुर वलीले बताउनुभयो।

बिहानैदेखि आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनहरूको बाक्लो उपस्थितिका कारण सवारी साधन व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई निकै कठिनाइ भएको छ। मन्दिरमा प्रसाद चढाउने र दर्शन गर्नेहरूको लामो लाइन देखिन्छ भने जानकी मन्दिर परिसरमा रहेको सङ्ग्रहालय (म्युजियम) अवलोकन गर्नेहरूको पनि उत्तिकै भिड लागेको छ।