१४ बैशाख २०८२ , आईतवार

राप्रपालाई कांग्रेसको चुनौती: सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर

News
१४ बैशाख, काठमाण्डौँ ।

नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आफ्ना सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाणित गर्न चुनौती दिएको छ। आइतबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई यस्तो चुनौती दिएका हुन्।

गत चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट तोडफोड गरी सामान लुटेका थिए। यसै विषयलाई लिएर राप्रपाका अध्यक्ष लिङ्देनले गत शुक्रबारको संसद् बैठकमा भाटभटेनीबाट रक्सी चोर्न कांग्रेसका सहमहामन्त्रीका छोरा पुगेको र प्रहरीले उनलाई पक्राउ गरी केही घण्टामै छोडेको आरोप लगाएका थिए।

लिङ्देनको उक्त भनाइलाई कांग्रेसले प्रमाणित गर्न चुनौती दिएको हो।

'सहमहामन्त्री नेपाली कांग्रेसमा मात्रै भनिन्छ। त्यसैले नेपाली कांग्रेसलाई नै इङ्गित गरेको भनेर बुझ्न गाह्रो भएन। कांग्रेसमा सहमहामन्त्री आठजना हुनुहुन्छ,' उनले भने, 'कुन चाहिँ सहमहामन्त्रीको कुन चाहिँ छोराले रक्सीको बोतल बोकेर हिँड्नुभएको हो, त्यो प्रमाणित गर्न म आग्रह गर्दछु।'

'प्रमाणित गर्न नसके शब्द फिर्ता लिएर क्षमायाचना गर्नुपर्छ,' उनको माग छ। प्रमुख सचेतक घिमिरेले लिङ्देनको उक्त झुटो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग पनि गरे।