नेपाल टेलिकमले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीलाई विशेष अफर ल्याएको छ । कम्पनीले एसईई दिएर बसेका वा दिएर पनि नतिजा आइसकेका विद्यार्थीलाई लक्षित गर्दै २० रुपैयाँमै सिम उपलब्ध गराउने भएको हो ।
टेलिकमका अनुसार यस्तो सिममा पहिले नै ९ रुपैयाँ ८० पैसा ब्यालेन्स हुन्छ । त्यस्तै ३० दिन मान्य हुने १५ जीबी डेटा पाइन्छ । तर, यो हरेक दिन ५०० एमबी मात्र प्रयोग गर्न सकिन्छ । त्यसला साथै उक्त सिममा प्रतिदिन टेलिकमका सिममा २० मिनेट निःशुल्क कल र १० ओटा एसएमएस पठाउन सकिन्छ । यो सेवा पनि निरन्तर ३० दिनसम्म पाउन सकिन्छ ।
त्यसका साथै ५० वा त्योभन्दा माथिको रिचार्ज गर्दा ५०० एमबी बोनस डेटा, ५० मिनेट टेलिकमका सिममा टकटाइम र टेलिकमकै नेटवर्कभित्र ५० ओटा एसएमएस पठाउन सकिन्छ । तर, यी प्याकेज रिचार्ज गरेको तीन दिनसम्म मात्र मान्य हुन्छन् ।
यो सिम पाउनका लागि एसईई प्रवेश पत्रको फोटोकपी वा कक्षा २० को ग्रेड शिट, एउटा फोटो, आफ्नो वा अभिभावकको नागरिकता लिएर नजिकैको टेलिकम कार्यालयमा जान सकिन्छ । त्यस्तै पुरानो सिममा पनि यो सेवा सञ्चालन गर्न सकिन्छ । त्यसका लागि सबैभन्दा पहिले *१४१४# डायल गर्नुहोस् । सिम एक्टिभेट भइसकेपछि *१६००# डायल गर्नुहोस् । अनि एसईई सिम्बोल नम्बर र जन्ममिति (उदाहरणका लागि तपाईंको जन्ममिति २०६० वैशाख १४ छ भने २०६००११४) राख्न सक्नुहुन्छ । यति गरेर पठाइसकेपछि सबै विवरण मिलेको छ भने तपाईंको सिममा एसईई प्लान एक्टिभेट हुन्छ । र, तपाईं निरन्तर ३० दिनसम्म टेलिकमले उपलब्ध गराउने सेवा प्रयोग गर्न सक्नुहुन्छ ।