नेपालमा पछिल्ला वर्षहरूमा औषधिको व्यापारमा वृद्धि भएको छ। नेपाल औषधि उत्पादक संघ (एपोन) ले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षमा औषधिको बिक्री २० प्रतिशतले बढेको छ।
एपोनले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार उक्त आर्थिक वर्षमा ३५.२ अर्ब रुपैयाँको औषधि बिक्री भएको छ। यो बिक्री एपोनका सदस्य रहेका ७६ मध्ये ६७ औषधि उद्योगहरूको हो। आर्थिक वर्ष २०७९/८० मा २९.३६ अर्ब रुपैयाँको औषधि बिक्री भएको थियो। दुई आर्थिक वर्षको तुलना गर्दा २०८०/८१ को बिक्रीमा १९.८९ प्रतिशतले वृद्धि भएको देखिएको हो।
एपोनका उपाध्यक्ष सन्तोष बरालका अनुसार पछिल्ला ३० महिनामा नेपालमा कुनै नयाँ औषधि कम्पनी स्थापना भएका छैनन्। नेपाली औषधि उद्योगको बिक्री कम्तिमा ६ करोडदेखि धेरैमा ३५० करोडसम्म रहेको छ।