नेपालमा गणतन्त्र स्थापना भएको १६ वर्ष पुगेको छ। यस अवसरमा विभिन्न राजनीतिक दलका महिला नेतृहरूले गणतन्त्रको सुदृढीकरण, चुनौती र आगामी कार्यदिशाबारे आफ्नो विचार राखेका छन्:
सीता गुरूङ (नेत्री, नेपाली कांग्रेस):
गणतन्त्र नेपाली जनताले लडेर ल्याएको व्यवस्था हो। यसका धेरै सुन्दर पक्ष छन्। अहिले आमनागरिक जो कोही पनि मुलुकको अभिभावक बन्ने सुनिश्चित भएको छ। तीन तहको सरकार सञ्चालन गर्ने ऐनकानुन समयमै बनाउन नसक्दा व्यवस्थाप्रति केहीले प्रश्न उठाएका हुन्। समयमै ती ऐनकानुन बनाएर जवाफ दिनुपर्छ। गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशितालाई संरक्षण गर्दै कार्यान्वयनमा जानुपर्छ।
विद्या भट्टराई (नेत्री, नेकपा (एमाले)):
गणतन्त्रले आमनागरिकलाई समानताको सिद्धान्तमा आधारित भएर व्यवहार गर्नुपर्छ। राज्यबाट बहिष्करणमा परेका विपन्न र सीमान्तकृत समुदाय राज्यको मूलधारमा आउनुपर्छ। असमानताहरू अन्त्य हुनुपर्यो। उठेका ती प्रश्न सम्बोधन गर्न आवश्यक नीतिनियम बनाउनुपर्यो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख आधार पारदर्शिता, सुशासन र व्यवहार बदल्ने सङ्कल्प हुन्। अब बहस र छलफल गरेर मात्रै हुँदैन, आफ्ना व्यवहार बदल्ने प्रतिबद्धता र सङ्कल्प अपरिहार्य छ।
विमला सुवेदी (नेत्री, नेकपा (माओवादी केन्द्र)):
गणतन्त्रमार्फत धेरै महत्वपूर्ण राजनीतिक उपलब्धि हासिल गरेका छौँ। राजतन्त्रको अन्त्य भएको छ। गणतन्त्र, सङ्घीयता, समानुपातिक, समावेशिता, धर्मनिरपेक्षतालगायत थुप्रै राजनीतिक अधिकार प्राप्त भएको छ। गणतन्त्रलाई थप सुदृढ र मजबुद बनाएर अघि बढाउन आवश्यक छ। गणतन्त्र आफैँमा उन्नत व्यवस्था हो। गणतन्त्रको विकल्प राजतन्त्र कदापि हुन सक्दैन।
अनिशा नेपाली (नेत्री, राप्रपा):
देश र जनताको अवस्था परिवर्तन होस् भनेर गणतन्त्र ल्याइएको हो। तर, पछिल्लो समय भ्रष्टाचार र अनियमितता झन् बढ्दो छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचार र बेतिथि अन्त्यका लागि अभियान सुरू गरेको छ। समावेशी, समानुपातिक व्यवस्थाको सही सुदपयोग भएको छैन। जनतालाई खुसी पार्न सम्पूर्ण राजनीतिक दलहरू गम्भीर हुनुपर्छ।
भगवती चौधरी (नेत्री, नेकपा (एमाले)):
राजनीतिक अभ्यास, स्वतन्त्रतालगायत हिसाबले विगतका व्यवस्थाभन्दा गणतन्त्र उत्तम हो। अधिकार र स्वतन्त्रताका नाममा कानुन र विधिको शासन विपरीत आफ्नो धारणा बनाउने प्रवृत्ति देखिएको छ। तथापि, जनताले अधिकार र स्वतन्त्रता उपभोग गरिरहेका छन्।