राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएका छन्।
‘‘इतिहास बनिसकेको राजतन्त्र फर्काउने नाममा प्रतिगामी तत्त्व सल्बलाउन थालेका छन्’’ शुक्रबार दिउँसो राष्ट्रिय जनमोर्चाले बागलुङ बजारमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै केसीले भने, ‘‘राष्ट्रमा समस्या आउँदा सबै संसदभित्र र बाहिर रहेका गणतन्त्रवादी शक्ति एकजुट हुनुको विकल्प छैन।’’
राजवादी शक्तिको चलखेलले मुलुक फेरि अध्यारोतर्फ धकेलिन थालेको आशङ्का व्यक्त गर्दै केसीले धरापमा परेको लोकतान्त्रिक गणतन्त्रलाई बचाउन संसदमा रहेका राजनीतिक दलहरूले एकअर्का बिच रहेको मतभेदको विरोध गर्दै एकजुट हुनुपर्ने बताए। २००७, ०४६ र ०६२/६३ सालमा सबै राजनीतिक दल एकजुट भएकै कारण राणा, पञ्चालय र राजतन्त्र ढलेको स्मरण गर्दै अध्यक्ष केसीले भने, ‘‘लोकतान्त्रिक गणतन्त्र रहे मतभेद गर्न पाइन्छ, नरहे के गर्ने?"
गणतन्त्रलाई फालेर फेरि राजतन्त्र सम्भव नै नभएको केसीको भनाइ थियो। जनताले दुई सय ४० वर्ष राजतन्त्र व्यहोरेको बताउँदै केसीले जनताको लामो सङ्घर्ष र ठुलो बलिदानपछि प्राप्त लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षतालाई जोगाउन परिवर्तनकारी सबै दल एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गरे।
अध्यक्ष केसीले मुलुकको शिक्षा प्रणाली सुधार गर्न आवश्यक रहेको बताए। राजनीतिक नेतृत्वले राष्ट्र र जनताको लागि राजनीति नगरी परिवारवादमा रमाउँदा अहिले लाखौं युवाले देशबाट पलायन भएको उनले बताए।
केसीले नेपाली जनताले नेपालमा एकात्मक प्रणालीको विकल्प सङ्घात्मक प्रणाली हुन नसक्ने कुरा महसुस गरिसकेको दाबी गरे। प्रदेश संरचनाको आर्थिक व्ययभारले देश धराशायी बनेको चर्चा गर्दै केसीले भने, ‘‘स्थानीय तहलाई थप सुदृढ र अधिकारसम्पन्न बनाउनुपर्ने आवश्यकता छ।’’