संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटनमा महिला उद्यमशीलता ठूलो सम्भावना बोकेको क्षेत्र भएको बताएका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पुरुषहरू वैदेशिक रोजगारका लागि विदेश पलायन भएकाले पर्यटन क्षेत्रमा महिला उद्यमशीलताको सम्भावना र चुनौती दुवै भएको बताए।
उनले महिलाहरूले धैर्यतापूर्वक सोचेर करुणामैत्री भावले काम गर्ने भएकाले पर्यटन क्षेत्रमा महिलाको भूमिका उपयुक्त हुने बताए। पर्यटन क्षेत्रमा महिला उद्यमशीलताका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग छलफल गरेर बजेटमा व्यवस्था गर्ने प्रतिवद्धता उनले व्यक्त गरे। पर्यटनमा महिला उद्यमशीलता अर्थतन्त्रको पनि आधार बन्नसक्ने उनको भनाइ छ।
मन्त्री पाण्डेले पर्यटन व्यवसायमा डिजिटल युगको अधिकतम उपयोग गर्नुपर्ने बताउँदै सरकार र निजी क्षेत्रबिच विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। पर्वतारोहणको क्षेत्रमा काम गर्नेहरुका लागि सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने प्रक्रियामा सरकार रहेको उनले बताए।