प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले स्थानीय सम्पदाको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा मिडिया र सङ्घसंस्थाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।
मिसन मिडिया क्लबद्वारा आयोजित ‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा मिडिया, सङ्घसंस्थाको भूमिका’ विषयक छलफलमा उनले यहाँका मूर्त वा अमूर्त सम्पदासँगै विविधासहितको संस्कृति, रितिरिवाज आफँैमा बहुआयामिक रहको बताए।
त्यस अर्थमा सबै किसिमका सम्पदाका अर्थात मौलिक संस्कृति, कला, साहित्य, भाषा र संस्कृतिको संरक्षणमा सहकार्यसहितको पुस्तान्तरण आवश्यक रहेको उनको भनाइ थियो। सो अवसरमा क्लबले आयोजना गरेको सात दिने उद्घोषण तालिमका प्रशिक्षार्थीहरूलाई उनले प्रमाणपत्र वितरण गरे।
नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले सम्पदा संरक्षणमा संस्थागत चासो देखाउँदै मिसन मिडिया क्लबको पहलकदमी सकारात्मक रहको बताए।
काठमाडौँ महानगरपालिकाअन्तर्गत हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको सहकार्य तथा महानगर–१९ र विपद् पत्रकारिता सञ्जालको समन्वयनमा आयोजित उक्त कार्यक्रममा लोकतान्त्रिक छापामाध्यम सञ्जालका अध्यक्ष दामोदर दवाडीले सञ्चार सम्वद्ध संस्थाले स्थानीय सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनका लागि लिएको चासो अर्थपूर्ण रहेको बताए।
क्लबका अध्यक्ष श्रीजन झाले सम्पदा हाम्रो पहिचान र पर्यटन सम्भावना भएको जिकिर गरे।