नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता द्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२ औँ स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम गरी मदन–आश्रित दिवस मनाइँदै छ।
आज प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा गर्ने कार्यक्रम छ। एमाले पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठले बल्खुमा एमालेको केन्द्रीय कार्यालय बनाउन मदन भण्डारीले अगुवाई गरेको बताए।
श्रेष्ठका अनुसार २०४६ सालको जनआन्दोलन सफल भएपछि नेकपाले बागबजारस्थित नारायणविलास जोशीको घरमा केन्द्रीय कार्यालय राखेको थियो। पछि उक्त कार्यालय बल्खुमा सारिएको थियो।
२०७२ सालको भूकम्पबाट क्षति पुगेपछि बल्खुको कार्यालय भत्काइएको थियो। हाल एमाले केन्द्रीय कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा छ। मदन–आश्रित स्मृति दिवसका दिन भने बल्खुस्थित कार्यालय र मदन भण्डारीको प्रतिमाले विशेष महत्त्व पाउने गरेको छ।