१५ बैशाख २०८२ , सोमबार

जनता केन्द्रित बजेट ल्याउन सांसदहरूको जोड

News
१४ बैशाख, काठमाण्डौँ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागत र वितरणमुखी नभई आवश्यकताका आधारमा जनता केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

नेपाली कांग्रेस सांसद राजेन्द्रकुमार केसीले देश र जनतालाई केन्द्रित गरेर नीति कार्यक्रम र बजेट तर्जुमा नहुँदा आर्थिक समृद्धिले गति लिन नसकेको बताए। उनले स्रोतसाधनलाई अध्ययन गरेर आत्मनिर्भरमुखी र कृषिमा आधारित बजेट ल्याउन सरकारलाई सुझाव दिए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद पदम गिरीले वर्तमान सरकार मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भइरहेको बताउँदै मुलुक र जनताको आवश्यकताका आधारमा बनेको सरकारले जनभावना सम्बोधन गर्ने धारणा राखे।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सरकारले जनभावना सम्बोधन गर्नुपर्नेमा जोड दिँदै संविधान र कानुन नमान्ने, बेथिती र विकृति बढाउने गतिविधि कसैले गर्न नहुने धारणा राखे। उनले यस्ता गतिविधि गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले वर्तमान सरकारले युवापुस्ताको राजनीतिक भविष्य समाप्त पार्ने अगाडि बढ्न नहुने सुझाव दिए। सरकारले गर्ने नियुक्ति र सिफारिस दक्षता र विज्ञाताका आधारमा गनुृपर्नेमा उनले जोड दिए।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सचेतक ज्ञानबहादुर शाहीले सरकारले जुनसुकै अवस्थामा पनि जनताको जीउधनको सुरक्षा गर्नुपर्नेमा जोड दिए। तीनकुने घटनाको न्यायिक छानबिन समिति गठन गर्न माग गर्दै उनले ठूला भ्रष्टाचारका घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले प्रदर्शनरत शिक्षक, आवासीय चिकित्सक, लघुवित्त तथा सहकारीपीडितको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए। जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झाले वितरणमुखी नभई उत्पादन र रोजगारमुखी बजेट ल्याउन सुझाव दिइन्।

नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले प्रदर्शनरत शिक्षकको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पहुँचका आधारमा अनुत्पादक क्षेत्रमा बजेट विनियोजन नगर्न सुझाव दिँदै जनतालाई केन्द्रमा राखेर बजेट र नीति कार्यक्रम ल्याउन आग्रह गरे।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले जनताले आन्दोलनमार्फत फ्याँकेको राजतन्त्र कुनै पनि हालतमा नफर्कने उल्लेख गर्दै राजतन्त्रका पक्षमा झुटको खेती नगर्न पूर्वराजा समर्थकलाई सुझाव दिए। आम जनता पार्टीका सांसद प्रभु साहले वर्तमान सरकारले सुशासन आयोग गठन गरेसँगै यसको प्रभावकारी कार्यसम्पादनमा जोड दिनुपर्ने बताए।

सांसद चन्दा चौधरीले भारतको जम्मुकस्मिरस्थित पहलगाममा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै आतङ्कवादी आक्रमण विपक्षमा उभिएर नेपालले भारतलाई दृढ समर्थन गर्नुपर्ने बताइन्। सांसद नारायणप्रसाद आचार्यले आत्मनिर्भर अर्थतन्त्र निर्माण, स्थानीय उत्पादन र रोजगारी अभिवृद्धिमा तीनै तहकार सरकारबीच समन्वय आवश्यक भएको बताए। सांसद मुक्ताकुमारी यादवले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको ‘भाटभटेनीको मदिरा लुटपाटमा कांग्रेस सहमाहमन्त्रीको छोरा संलग्न’सम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन्।