सांसदहरूले सांसद विकास कोषका नाममा सांसदलाई बजेट बाँडेर बदनाम नगराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद राजेन्द्रकुमार केसीले सांसद विकास कोषका नाममा सांसदलाई बदनाम नगर्न माग गर्नुभएको हो। सांसद कोषका नाममा रु ३४ अर्ब छुट्याउने तयारी भनी आएको समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले सांसदलाई उहाँहरुका क्षेत्रका योजना पहिचानमा सहभागी गराउन आग्रह गर्नुभयो।
चालु आवमा रु १४ खर्बको राजस्वको अनुमान गरिएकामा हालसम्म अहिलेसम्म साढे नौ खर्ब पनि नउठेकाले पपुलिष्ट बजेट नल्याउन पनि उहाँले सुझाव दिनुभयो। बजेट निर्माणमा कर्मचारीको हालीमुहाली छ भन्ने चर्चा अहिले आएकाले यस्तो हुने वातावरण नबनाउन पनि उहाँले माग गर्नुभयो।
सांसद सूर्यप्रसाद ढकालले नेपाली युवालाई विदेश नपठाई स्वदेशमै उत्पादनमा लगाउनेगरी बजेटको व्यवस्था गराउनुपर्ने माग गर्नुभयो। कृषिप्रधान देश नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनेगरी बजेट आउनुपर्ने माग पनि उहाँको थियो।
सांसद रामकृष्ण यादवले नागरिकको अपेक्षाअनुसार सरकारको गति अघि बढ्नुपर्नेमा जोड दिनुभयो। संसद् र सांसदको क्षमता एवं मूल्यमान्यता बढाउनुपर्ने भन्नुहुँदै उहाँले कृषि क्षेत्रमा बिचौलियालाई निरुत्साहित गर्नेगरी बजेट ल्याउन माग गर्नुभयो। वैकल्पिक राजमार्गका लागि बजेट व्यवस्था गरी शीर्षक नकाट्न सांसद यादवले अनुरोध गर्नुभयो। पूर्वाधार निर्माणका काम रातको समयमा गरी छिटो सक्नेगरी व्यवस्था गरिनुपर्ने पनि उहाँको भनाइ थियो।