श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारीका सम्भावनालाई व्यवस्थापन गर्दै फाइदा उठाउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा भएको आन्तरिक रोजगार प्रवर्द्धन तथा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूको पुनःएकीकरणसम्बन्धी छलफलमा उनले मुलुकमा रोजगारीको सम्भावना नै छैन भन्ने धारणाबाट बढेको नैराश्यता हटाउन जरूरी रहेको बताए। रोजगारदाताले उपयुक्त जनशक्ति पाइरहेको छैन, यहाँका काममा बमहिरबाट मानिस आउनुपर्ने अवस्था छ। भनसुनबिनौ योग्यता, क्षमताअनुसारको काम पाउने अवस्था सृजना गर्न श्रम संसारको सुरुआत गरेका छौँ, त्यसलाई नागरिक एपमा जोड्छौँ, उनले भने।
उनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको काम वैदेशिक रोजगारको मात्रै काम हो भन्ने सोचबाट मुक्त भएर मुलुकमा भएको रोजगारीको सम्भावना र अवसरलाई पनि ध्यान दिएर काम गर्न लागिपरेको बताए।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले देशभित्रै उत्पादनका क्षेत्रमा रोजगारीको सृजना गर्न ध्यान दिनुपर्नेमा जोड दिए। उनले कृषि, निर्माण, पर्यटन, होटललगायतका क्षेत्रमा सम्भावना रहेकाले यसमा लगानी गर्नुपर्ने बताए।
मन्त्रालयका सचिव कृष्णहरि पुष्करले ज्ञानसहितको दक्ष जनशक्ति नहुँदा रोजगारीका क्षेत्रमा ठूलो समस्या देखापरेको बताए। उनले देशभित्रै काम गर्न गाह्रो मान्ने तर त्यही काम विदेशमा गएर गर्न तत्पर रहने पद्धतिले रोजगारीको वातावरण नबनिरहेको धारणा राखे।