जापान प्रहरीले जेनेरेटिभ एआई प्रविधि प्रयोग गरी सिर्जना गरिएका अश्लील तस्बिरहरू बेच्ने आरोपमा चार जनालाई पक्राउ गरेको छ। प्रहरी प्रवक्ता र स्थानीय सञ्चार माध्यमहरूका अनुसार यो जापानमा यस प्रकारको पहिलो कारबाही हो।
टोकियो प्रहरीका प्रवक्ताले एएफपीलाई दिएको जानकारी अनुसार, अश्लील तस्बिरहरू बनाएर अनलाइनमा बेच्ने गरेको आरोपमा उनीहरूलाई सोमबार पक्राउ गरिएको हो। उनीहरूले गत अक्टोबरमा विभिन्न लिलामी साइटहरूमा ती तस्बिरहरू बेचेका थिए। दोषी ठहर भएमा उनीहरूलाई दुई वर्षसम्मको जेल सजाय, २५ लाख येन (१७ हजार ५ सय अमेरिकी डलर) सम्म जरिवाना, वा दुवै हुनसक्ने बताइएको छ।
सार्वजनिक प्रसारक एनएचके लगायत अन्य सञ्चार माध्यमहरूले पक्राउ परेका व्यक्तिहरूले निःशुल्क एआई सफ्टवेयर प्रयोग गरी वास्तविक संसारमा नभएका नग्न महिलाहरूको तस्बिर बनाएको जनाएका छन्। उनीहरूले ‘खुट्टा खुला’ जस्ता शब्दहरू प्रयोग गरेर ती तस्बिरहरू सिर्जना गरेका थिए। बीसदेखि ५० वर्ष उमेर समूहका ती चारै जनाले प्रत्येक तस्बिर केही हजार येन (२० देखि ५० अमेरिकी डलर) मा बेच्ने गरेको बताइएको छ।
यसअघि, एआई प्रविधि प्रयोग गरी बनाइएका अश्लील तस्बिरहरू बेचेको आरोपमा जापानमा कसैलाई पनि पक्राउ गरिएको थिएन। डिपफेक जस्ता प्रविधिहरूको दुरुपयोग बढ्दै गएपछि विश्वभर यसप्रति चिन्ता व्यक्त भइरहेको छ। सेन्सिटी नामक डच एआई कम्पनीको २०१९ को अध्ययन अनुसार, अनलाइनमा रहेका लगभग ९६ प्रतिशत डिपफेक भिडियोहरू गैर-सहमतीय पोर्नोग्राफी हुन्, जसमा प्रायः महिलाहरूलाई देखाइएको छ।