अरबी पात्रोअनुसार हिजरी संवतको नवौँ महिना रमजान सम्पन्न भएसँगै देशभरका मुस्लिम समुदायले आज इद उल फित्र पर्व उल्लासपूर्वक मनाएका छन्। एक महिनासम्म निराहार व्रत (रोजा) पूरा गरेपछि यो पर्व विशेष नमाज, आशीर्वाद र दानको महत्वका साथ मनाइन्छ।
शनिबार बिहान विभिन्न मस्जिद र इदगाहमा विशेष नमाज पाठ गरिएको छ। काठमाडौंको घन्टाघरस्थित नेपाली जामे मस्जिद र काश्मी मस्जिदसहित देशभरका मस्जिदहरूमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। नमाजपछि मुस्लिम समुदायका सदस्यहरूले ठूलाबडाकहाँ गएर आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने परम्परा अनुसार तीन दिनसम्म भेटघाट जारी रहनेछ।
यस अवसरमा आफन्तजनलाई सेवई, खजुरलगायतका मीठा परिकार खुवाउने चलन रहेको छ। साथै, खुशी साटासाट गर्दै साथीभाइबीच इदको शुभकामना आदानप्रदान गरिन्छ र नयाँ लुगा लगाउने परम्परा पनि रहेको छ।
इद उल फित्रको मुख्य विशेषता दानलाई मानिन्छ। मुस्लिम धर्मग्रन्थ कुरानअनुसार एक वर्षको बचतको साढे दुई प्रतिशत रकम वा सो बराबरको जिन्सी दान गर्नुपर्ने व्यवस्था छ, जसलाई ‘जकात’ भनिन्छ। यसैगरी प्रत्येक व्यक्तिले आफ्नो क्षमता अनुसार गहुँ वा नगद दान गर्ने प्रचलन ‘सदकात फित्र’ (फित्र) का रूपमा परिचित छ। यी दानहरू दीन दुःखी र गरीबलाई वितरण गरिन्छन्।
मुस्लिम धर्मावलम्बीका अनुसार रमजान महिनामा गरिएको रोजा एक वर्षभरिका पाप क्षय गर्ने विश्वाससँग जोडिएको छ। यस अवधिमा सूर्योदयदेखि सूर्यास्तसम्म उपवास बसेर साँझ पूजा तथा इबादत गर्ने गरिन्छ।
यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ।