५ चैत्र २०८२ , बिहीबार

निर्वाचनको नतिजा राष्ट्रपतिलाई बुझाइँदै

News
५ चैत्र, काठमाण्डौँ ।

निर्वाचन आयोगले राष्ट्रपतिलाई अन्तिम निर्वाचन परिणाम पेश गरेपछि नयाँ सरकार गठन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ। संसद् आह्वानसँगै संवैधानिक प्रक्रिया अनुसार नयाँ सरकार निर्माणको चरण सुरु हुनेछ।

फागुन २१ गते सम्पन्न निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट र समानुपातिकतर्फ ५७ सिट गरी कुल १८२ सिट जित्दै स्पष्ट रूपमा अग्रस्थान हासिल गरेको हो।

नेपाली कांग्रेस १८ प्रत्यक्ष र २० समानुपातिक गरी कुल ३८ सिटसहित दोस्रो ठूलो दल बनेको छ। त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रत्यक्षतर्फ नौ र समानुपातिकतर्फ १६ सिट जित्दै कुल २५ सिटसहित तेस्रो स्थानमा रहेको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आठ प्रत्यक्ष र नौ समानुपातिक सिटसहित कुल १७ सिट प्राप्त गर्दै चौथो स्थान हासिल गरेको छ। श्रम संस्कृति पार्टी सात सिटसहित पाँचौँ स्थानमा रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच सिटसहित छैटौँ स्थानमा रहेको छ।

यस निर्वाचनको परिणामअनुसार संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको संख्या छमा सीमित हुने भएको छ। अब दलहरूबीच सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने कसरत सुरु हुने अपेक्षा गरिएको छ।